सप्तरी — बोदेबरसाईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनित भएका छन्।


नेपाल सरकारका पूर्वाधार विकासमन्त्रीस्तरीय निर्णयअनुसार सिंहलाई नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २ (घ) बमोजिम सञ्चालक समिति सदस्यमा मनोनित गरिएको हो।


पूर्वाधार विकास मन्त्रालयले २०८३ साउन २५ गते जारी गरेको पत्रमार्फत सिंहलाई मनोनित गरिएको जानकारी दिएको छ। मन्त्रालयका सहसचिव दिलिप भण्डारीले हस्ताक्षर गरेको पत्रमा मन्त्रीस्तरीय निर्णयअनुसार सिंहलाई नगर विकास कोषको सञ्चालक समिति सदस्यको जिम्मेवारी दिइएको उल्लेख छ।


स्थानीय तहसँग प्रत्यक्ष जोडिएका विकास आयोजना तथा पूर्वाधार निर्माणमा नगर विकास कोषको महत्वपूर्ण भूमिका रहँदै आएको छ। नगर विकास कोषले स्थानीय तहलाई ऋण तथा अन्य वित्तीय सहयोगमार्फत विभिन्न विकास आयोजना अघि बढाउन सहजीकरण गर्दै आएको छ।


सिंहको मनोनयनले सप्तरीसहित मधेश प्रदेशका स्थानीय तहका विकाससम्बन्धी विषयलाई नगर विकास कोषको नीति तथा निर्णय प्रक्रियामा थप प्रभावकारी रूपमा उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


मन्त्रालयले सिंहको मनोनयनबारे नगर विकास कोष, नयाँ बानेश्वर र बोदेबरसाईन नगरपालिकालाई समेत बोधार्थ पठाएको छ।