सप्तरी — सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका घरपछाडि मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय इरफानकी छोरी सानिया खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। परिवारका अनुसार बिहान करिब ९ बजेसम्म उनी घरमै देखिएकी थिइन्। त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि बालिकाको शव फेला परेको हो।
बालिका नग्न अवस्थामा फेला परेको स्थानीयले बताएका छन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। बालिकाको मृत्युको कारण तत्काल खुल्न नसकेको र घटनाको प्रकृति तथा परिस्थितिबारे प्रहरीले अनुसन्धान अघि बढाएको उनले बताए।
घटनास्थलमा स्थानीयको बाक्लो भीड लागेको छ। प्रहरीले अनुसन्धान पूरा भएपछि घटनाबारे थप तथ्य खुल्ने जनाएको छ।



















