सप्तरी । शिक्षक–कर्मचारी छनोट प्रक्रियालाई लिएर विवादमा परेको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध्यमिक विद्यालयमा दोस्रो चरणको परीक्षा आइतबार बिहान ११ः१५ बजेदेखि सञ्चालन भइरहेको छ।

यसअघि भर्ना प्रक्रियामा अनियमितता तथा आर्थिक चलखेल भएको आरोप लागेपछि बुधबारका लागि तय गरिएको परीक्षा स्थगित गरिएको थियो। शनिबार परीक्षा पुनः सञ्चालन गर्न खोज्दा स्थानीयवासी र सुरक्षाकर्मीबीच विवाद भई केही समय धकेलाधकेलसमेत भएको थियो।

सम्बन्धित पक्षबीच सहमति भएपछि शनिबार दिउँसो ३ः४५ बजेदेखि पहिलो चरणको परीक्षा सञ्चालन गरिएको थियो। सोही सहमतिअनुसार आइतबार दोस्रो चरणको परीक्षा भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नथुनी दासले जानकारी दिए।

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले भने छनोट प्रक्रियामा आर्थिक चलखेल वा ‘सेटिङ’ भएको आरोप निराधार रहेको बताएका छन्। ‘बिना प्रमाण कसैमाथि आरोप लगाउनु हुँदैन,’ उनले भने, ‘अहिले परीक्षा शान्तिपूर्ण रूपमा भइरहेको छ।’

परीक्षा स्थलमा सुरक्षा व्यवस्था मिलाइएको छ।