विराटनगर । ५९औँ राधाकृष्ण रथयात्राको भीडमा आपराधिक तथा शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले ९० जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार विराटनगरमा आयोजित रथयात्रामा सहभागी भक्तजनको भीडलाई लक्षित गरी पाकेटमारी, चोरी तथा अवाञ्छित गतिविधि गर्नेहरूलाई प्रहरीले निगरानीमा राखेको थियो। सोही क्रममा शंकास्पद देखिएका र विभिन्न गतिविधिमा संलग्न रहेको आरोप लागेकाहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालका अनुसार नियन्त्रणमा लिइएकाहरूलाई वडा प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। रथयात्रामा ठूलो संख्यामा भक्तजन सहभागी भएकाले सम्भावित आपराधिक गतिविधि रोक्न प्रहरीलाई विशेष रूपमा परिचालन गरिएको उनले बताए।

रथयात्रा चलिरहेकाले नियन्त्रणमा लिइने व्यक्तिको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।

सुरक्षाका लागि रथयात्राको मार्ग तथा भीडभाड हुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित जोखिम र भीडको गतिविधिमाथि निगरानी गर्न ड्रोनको प्रयोग गरिएको छ भने चोरी, पाकेटमारी र झैझगडा नियन्त्रणका लागि सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।