काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीले आज न्यूजिल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय अभ्यास खेल खेल्दैछ। डार्विनस्थित मरारा क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
नेपालका लागि यो अष्ट्रेलिया भ्रमणको अन्तिम खेल हो। यसअघि खेलेका दुई खेलमा पराजित भएको नेपाल आज न्यूजिल्यान्ड ‘ए’ लाई हराउँदै भ्रमणको सुखद अन्त्य गर्ने लक्ष्यमा छ।
आजको खेलमा नेपालले नारायण जोशीको स्थानमा विपिन खत्रीलाई प्लेइङ–११ मा समावेश गरेको छ। चोटका कारण टोलीका प्रमुख ब्याटर कुशल भुर्तेल भने आज पनि टोलीमा छैनन्।
न्यूजिल्यान्ड ‘ए’ विरुद्धको यो खेल नेपालका लागि आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।



















