विभिन्न जिल्लामा बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको आइतबार बिहान ६ : ४० बजेसम्मको विवरणअनुसार केही सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि रसुवा, नुवाकोट र धादिङका केही स्थानमा पूर्ण अवरोध कायमै छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरोका कारण अवरुद्ध काठमाडौं–धादिङ सडक एकतर्फी सञ्चालनमा आएको छ। ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित टाकुर्चेमा अवरुद्ध कान्तिलोकपथ पनि एकतर्फी सञ्चालनमा छ।
काभ्रेमा बाढीका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्ड र वेत्रावती नगरपालिका–१० सिमटारमा पसाङल्हामु सडकखण्ड पनि अवरुद्ध रहेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ भने गजुरी गाउँपालिका–२ परेवाभीरमा एक लेनबाट यातायात सञ्चालन भइरहेको छ ।
धादिङकै त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्डमा पनि यातायात सञ्चालनमा समय र सवारीको तौलअनुसार प्रतिबन्ध लगाइएको छ।
पछिल्लो व्यवस्थाअनुसार १० टनसम्मका मालवाहक सवारी राति ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न सकिने तथा अन्य सवारी परिस्थिति हेरी बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिने जनाइएको छ ।




















