सिरहा । नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको ठूलो परिमाणको गाँजा सिरहाको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गरेको छ।
औरही गाउँपालिका–४ इट्टाटारस्थित सीमा इलाकामा बुधबार राति करिब १ः३५ बजे सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार केही व्यक्तिले टाउकोमा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेका थिए। गस्ती टोलीलाई देखेपछि उनीहरूले गाँजाका बोरा बाटोमै छाडेर फरार भएका थिए।
बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको नं. ७ गण हेडक्वार्टर सिरहाले जनाएको छ।
गणपति एसपी सुमनजंग थापाले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि गस्ती र निगरानी थप कडा पारिएको बताए।



















