सिरहा । सिरहाको हुलाकी सडक खण्डमा निरन्तर बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले विद्यार्थीसँग लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

सिरहाको वरियारपट्टिस्थित जनता उच्च माध्यमिक विद्यालय, दौरीपट्टिमा आयोजित उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको हो।

1766544444475

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित सिरहा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सालिकराम तिमिल्सीनाले विद्यार्थीहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा तथा सडक प्रयोगसम्बन्धी आवश्यक सचेतना प्रदान गर्नुभयो। हालैका दिनहरूमा हुलाकी सडक खण्डमा भएका दुर्घटनाको अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै उहाँले विद्यार्थीहरूलाई अनुशासित र जिम्मेवार सडक प्रयोगकर्ता बन्न आग्रह गर्नुभयो।

प्रहरी निरीक्षक तिमिल्सीनाले भन्नुभयो,
“सडक दुर्घटना न्यूनीकरणमा विद्यार्थी समुदायको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण छ। जिल्लाका सबै क्षेत्र, निकाय र वर्गले आ–आफ्नो स्थानबाट पहल गरेमा मात्र दुर्घटना नियन्त्रण सम्भव हुन्छ।”
उहाँले सामुदायिक स्तरमा ट्राफिक प्रहरीप्रति देखिएको सकारात्मक सोच र सहयोगप्रति आभारसमेत व्यक्त गर्नुभयो।

विद्यार्थी जनमत संघका अध्यक्ष पोषण यादवको समन्वयमा विभिन्न विद्यालयहरूमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन हुँदै आएको छ। यादवले सिरहा ट्राफिक प्रहरीसँग समन्वय गरी विद्यार्थी लक्षित कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उमेश साह, शिक्षकहरू, विद्यार्थीहरू तथा ट्राफिक प्रहरीका प्राविधिक टोलीको सक्रिय सहभागिता रहेको थियो। विद्यालय प्रशासनले ट्राफिक प्रहरीद्वारा गरिएको यो पहललाई सकारात्मक, उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएको छ।