सिरहा — सिरहाको भगवानपुर गाउँपालिकामा करार सेवामा कर्मचारी भर्ना प्रक्रियामा अनियमितता भएको आरोपसहित छानबिनको माग गरिएको छ। स्थानीय राजाराम यादवले प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दर्ता गर्दै भर्ना प्रक्रियामा कानुनविपरीत कार्य भएको दाबी गरेका हुन्।

उजुरीअनुसार गाउँपालिकाले २०८० साउनमा प्रकाशित विज्ञापनका आधारमा २०८१ साउनमा अन्तिम नतिजा सार्वजनिक गरी करिब ६७ जना कर्मचारी करारमा नियुक्त गरेको थियो। तर दरबन्दीभन्दा बढी कर्मचारी राखी सेवा–सुविधा प्रदान गरिएको र सो खर्च आन्तरिक स्रोतबाहेक अन्य स्रोतबाट व्यहोरेको आरोप लगाइएको छ।

यस्तै, स्वयंसेवक शिक्षक पदमा छनोट भएका एक उम्मेदवारले फरक पदमा आवेदन दिएको भए पनि शिक्षकका रूपमा नियुक्त गरिएको दाबी गरिएको छ। सब–इन्जिनियर पदको अन्तिम सूचीमा प्रारम्भिक सूचीमा नरहेका उम्मेदवार समावेश भएको उल्लेख गर्दै छनोट प्रक्रिया पारदर्शी नभएको आरोपसमेत उजुरीमा गरिएको छ।

भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले विद्यालयहरूमा नियमविपरीत ज्यालादारी शिक्षक नियुक्त गरेको तथा कर्मचारी छनोटमा आर्थिक चलखेल भएको आशंका पनि व्यक्त गरिएको छ।

उजुरीमा गाउँपालिका कार्यालय परिसरमै राजनीतिक कार्यक्रम सञ्चालन गरिएको र केही कर्मचारीले दल विशेषको पक्षमा नाराबाजी गरेको भिडियो प्रमाण पेश गरिएको उल्लेख छ।

उजुरीकर्ताले सम्पूर्ण विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालय सिरहाले उजुरीबारे अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।