मनु यादव निरज : लहान । मिथिला क्षेत्रसहित तराई–मधेशका जिल्लाहरूमा आज जुडशीतल पर्व हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख २ गते मनाइने यस पर्वले नयाँ वर्षको सुरुवातसँगै शीतलता, सुख, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा बोकेको छ।

पर्वको अवसरमा घरका जेष्ठ व्यक्तिहरूले साना सदस्यहरूको टाउकोमा चिसो पानी हालेर आशीर्वाद दिने चलन छ। यसले वर्षभरि शीतलता र स्वास्थ्यको कामना गरिएको विश्वास गरिन्छ। साथै, रुखबिरुवामा पानी हाल्ने, खेतबारी सिँचाइ गर्ने तथा प्रकृतिप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि रहेको छ।

तराई–मधेशका विभिन्न स्थानमा बिहानैदेखि धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। परिवारजन एकैठाउँ भेला भई परिकार बाँडफाँड गर्दै आपसी सद्भाव र एकताको सन्देश दिइरहेका छन्।

जुडशीतल पर्वले प्रकृति संरक्षण, आपसी मेलमिलाप र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।