राजविराज । पत्रकार सौरभ यादवले गरिब र विपन्न वर्गको न्यायका लागि सडक संघर्ष अपरिहार्य रहेको बताउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले लोकतन्त्रको रक्षा र नागरिकको आवाज बुलन्द गर्न सडक सधैं सजग र सक्रिय हुनुपर्नेमा जोड दिनुभएको हो।

पत्रकार यादवले लेख्नुभएको छ, "गरिब र विपन्नको आवाज सडकबाटै बुलन्द हुनुपर्छ। जब सडक सुनसान हुन्छ, तब संसद आवारा र निरंकुश बन्न थाल्छ।" उहाँका अनुसार राज्यको सर्वोच्च अंग संसदलाई जिम्मेवार बनाउन र लोकतन्त्रलाई जीवित राख्न सडकले निरन्तर न्यायको श्वास फेरिरहनु आवश्यक छ।
सडकको शक्तिलाई जनताको असली तागतका रूपमा चित्रण गर्दै यादवले सडक मौन बसेको दिन न्यायको समेत मृत्यु हुने टिप्पणी गर्नुभएको छ। पछिल्लो समय जनसरोकारका मुद्दाहरू ओझेलमा पर्दै गएको प्रति संकेत गर्दै उहाँले आफू अब सडकबाटै संघर्षको तयारीमा जुट्न लागेको समेत उद्घोष गर्नुभएको छ।
विगत लामो समयदेखि खोज पत्रकारिता र प्रशासनिक अनियमितता विरुद्ध आवाज उठाउँदै आउनुभएका यादवको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी मधेश प्रदेशका विकास निर्माणमा हुने ढिलासुस्ती र सुशासनका सवालमा उहाँले निरन्तर खबरदारी गर्दै आउनुभएको छ।


















