सिरहा – सिरहाको भगवानपुर गाउँपालिका वडा नं.३ मरिकटोल–अभयनगर सडक खण्ड चार वर्षदेखि निर्माणाधीन नाममा अलपत्र छोडिँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य भएका छन्। वर्षा लागेसँगै सडक हिलो, खाल्डाखुल्डी र पानी जमेर पोखरीजस्तै बनेपछि आवतजावत नै कष्टकर बनेको छ।

भगवानपुर गाउँपालिका–३ का स्थानीय सुभाष चन्द्र यादवका अनुसार सम्बन्धित निकायको लापरबाहीकै कारण सडक जीर्ण बन्दै गएको हो। “दैनिक साना–ठूला दुर्घटना भइरहेका छन्, तर कसैको ध्यान छैन,” उनले आक्रोश व्यक्त गरे।
मिरकटोलदेखि अभयनगर धातीसम्मको सडक खण्ड अत्यन्तै जोखिमपूर्ण बनेको छ। सवारी साधन सञ्चालन गर्नै कठिन भएको छ भने यात्रुहरूलाई बीच बाटोमै ओराल्ने–चढाउने अवस्था रहेको मोटरसाइकल चालक अजय यादवले बताए।

स्थानीय कलेश्वर यादवका अनुसार ठाउँठाउँमा खाल्डा र पानी जम्दा दुर्घटनाको जोखिम झन् बढेको छ। “सडक होइन, पोखरी बनेको छ,” उनले व्यंग्य गरे।
स्थानीयहरूका अनुसार चुनावअघि विकासका ठूला आश्वासन बाँड्ने जनप्रतिनिधिहरू अहिले समस्याप्रति बेखबर जस्तै छन्। “विकासको नाममा भोट माग्नेहरू अहिले जनताबाट टाढिएका छन्,” स्थानीय सुभाष चन्द्र यादवले आरोप लगाए।
सडकको दयनीय अवस्थाबारे प्रतिक्रिया लिन भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव तथा वडा नं. ३ का अध्यक्ष विनोद यादवलाई सम्पर्क गर्न खोज्दा उनीहरू सम्पर्कमै आएनन्।


















