सिरहा — सिरहाको नवराजपुर गाउँपालिकाभित्र सञ्चालन भइरहेका ग्राभेल तथा बाटो निर्माण कार्यमा गुणस्तरीय समस्या देखिएको भन्दै गाउँपालिका उपाध्यक्ष पुनम कुमारी यादवले गम्भीर आपत्ति जनाएकी छन्।

उनका अनुसार निर्माणमा प्रयोग भइरहेको ग्राभेलमा अत्यधिक माटो मिसिएको पाइएको छ, जसले दीर्घकालीन रूपमा सडकको गुणस्तरमा नकारात्मक असर पार्नेछ। उनले यस्ता गुणस्तरहीन सामग्रीको प्रयोग तत्काल बन्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

उपाध्यक्ष यादवले बाटोमा खसेको ग्राभेल पुनः प्रयोग गरी काम राम्रो देखाउने प्रयास नगर्न समेत सचेत गराएकी छन्। “गुणस्तरीय सामग्री प्रयोग गरेर मात्र स्थायी र दिगो विकास सम्भव हुन्छ,” उनले भनिन्।
आर्थिक वर्षको अन्त्यतिर हतारमा काम सम्पन्न गरी जनतालाई भ्रममा पार्ने प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेकी छन्। विगतमा अनुगमन अभावका कारण आफूले केही योजनामा साइन गर्न अस्वीकार गरेको स्मरण गर्दै उनले योजना सुरु गर्नु अघि अनिवार्य रूपमा जानकारी गराउनुपर्नेमा जोड दिइन्।

साथै, महिला जनप्रतिनिधिको आवाजलाई बेवास्ता गर्ने प्रवृत्ति देखिएको भन्दै उनले कर्मचारीहरूलाई जनताप्रति उत्तरदायी बन्न आग्रह गरेकी छन्।
गुणस्तरीयहीन कार्य भेटिएमा तत्काल रोक्न निर्देशन दिँदै उनले जनताको सम्पत्तिको संरक्षण गर्न सबैलाई सचेत गराएकी छन्।


















