राजविराज - सप्तरीको बलान बिहुल गाउँपालिका-४ बेल्हीमा मध्यराति पेस्तोलसहित आएको भनिएको ६/७ जनाको समूहले घरमै प्रवेश गरी परिवारका सदस्यलाई कुटपिट गर्दै २४ वर्षीय अभिनन्द यादवलाई जबर्जस्ती लिएर गएको परिवारको दाबी छ। घटनापछि युवकको अवस्था अझै अज्ञात छ।


राति करिब १२ बजे घरमा सुतिरहेका बेला ढोका खुलाउन लगाएर पेस्तोल ताक्दै अभिनन्दलाई बाहिर निकालिएको उनका काका अमोद यादवले बताएका छन्। परिवारले उनलाई बलान नदीको बाटो हुँदै भारततर्फ लगिएको आशंका गरेको छ। घटनास्थलबाट करिब ५ सय मिटरमै नेपाल–भारत सीमा रहेको बताइएको छ।


घटनापछि प्रहरीलाई खबर गरे पनि तत्काल प्रहरी नआएको भन्दै आफन्त र स्थानीयले मंगलबार बेल्ही प्रहरी चौकी घेराउ गर्दै प्रदर्शन गरेका छन्।घरको गेट घेरेर, हतियार देखाएर युवकलाई उठाएर लैजाने अवस्था आयो भने सीमा सुरक्षा र नागरिक सुरक्षाको जिम्मेवारी कसको? नजिकै प्रहरी चौकी र बीओपी हुँदाहुँदै घटना प्रहरीको जानकारीबाहिर रहनु झनै गम्भीर प्रश्न बनेको छ।


वडाध्यक्ष लक्ष्मीनारायण झाले नागरिक आफ्नै घरमा असुरक्षित हुनु दुःखद् भएको भन्दै युवकको तत्काल खोजी गरी अवस्था सार्वजनिक गर्न माग गरेका छन्।

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी रुपक खड्काले प्रारम्भिक जानकारीअनुसार अभिनन्द भारतमा गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले नियन्त्रणमा लिएर लगेको सूचना आएको बताएका छन्। 


तर पेस्तोल बोकेको समूहले घरबाटै उठाएर लगेको विषयमा नेपाल प्रहरीलाई जानकारी नभएको र भारतीय प्रहरीसँग समन्वय भइरहेको उनको भनाइ छ।

अब प्रश्न केवल अभिनन्द यादव कहाँ छन् भन्ने होइन-सीमावर्ती क्षेत्रमा नागरिकको घरसम्म हतियारधारी समूह पुग्दा राज्यको सुरक्षा संयन्त्र कहाँ थियो?

घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गरी नागरिकमा बढेको त्रास अन्त्य गर्न प्रहरी प्रशासन गम्भीर बन्नैपर्छ