काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई ३ विकेटले पराजित गरेको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा सोमबार भएको खेलमा १४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो ।

आर्मीका लागि कुशल मल्ल ३१ रनमा अविजित रहँदा विवेक कुमार यादवले २६ रन बनाए ।


एपीएफका लागि कमल ऐरी, अमर रौतेला र रोहित पौडेलले २–२ तथा किशोर महतोले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको एपीएफले ४२.३ ओभरमा १४१ रन बनाएको थियो ।

एपीएफका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले । उनले ९१ ब्लमा ९ चौका प्रहार गर्दै ६५ रनको योगदान गरे ।

अमर रौतेला, किशोर महतो र भुवन कार्कीले ११–११ रन बनाए ।

आर्मीका लागि आकाश चन्दले ४ विकेट लिए । सोमपाल कामीले ३, साहब आमलले २ तथा बसिर अहमदले १ विकेट लिए ।