नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा निर्जीवन बीमातर्फ २ अर्ब १५ करोड ७६ लाख बीमा शुल्क संकलन गरेको छ । सोही अवधिमा भने निर्जीवन बीमातर्फ जारी बीमा लेख संख्या भने २ लाख ५९ हजार ४७५ रुपैयाँ रहेको छ ।
निर्जीवन बीमातर्फ सात हजार १२४ संख्याले १ अर्ब ६० करोड २६ लाख रकम दाबी भुक्तानी माग गरेका छन् । तर, कार्यालयले सो माग गरेकामध्ये ५ हजार ५८५ जनालाई १ अर्ब ८ करोड ४३ करोड दाबी भुक्तानी गरेको जनाएको छ ।
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेश प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रूपमा बढ्न नसकेको गुनासो गरिन् । "हामीले बीमासम्बन्धित साक्षरता अभियान सञ्चालन गर्दै आइरहेका छौँ,' उनले भनिन्, 'आगामी दिनमा बीमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी छौँ ।'
कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रकम संकलन गरेको छ । सो अवधिमा मधेश प्रदेशमा ८६ हजार ६ सय ७० वटा जीवन बीमाको बीमालेख संख्या रहेको छ ।
जीवन बीमा शुल्क संकलनमा मधेश प्रदेशको हिस्सा ९.२४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बीमातर्फको दाबी भुक्तानी संख्या १७ हजार २६८ बाट २ अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षको वर्षभरिमा भने जीवन बीमातर्फको दाबी भुक्तानी संख्या २१ हजार ९०४ बाट २ अर्ब ८७ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।




















