रासिन्द्र यादब - सप्तरी । गरिबी, अभावको कारणले हातमुख जोड्नकै लागि हरवा चरवाको काम गर्दै आइरहेका हरवा चरवाहरुको लगत संकलन, पहिचान र परिचय पत्र वितरणका लागि सप्तरीको बलानबिहुल गाउँपालिकामा सोमबार कार्यविधि निर्माण सम्बन्धी अभिमुखीकरण संचालन गरिएको छ ।
बलानबिहुल गाउँपालिका र जनचेतना दलित संगमद्वारा संयुक्त रुपमा आयोजित अभिमुखीकरणमा गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले खेतबारी र बस्तुभाउको काम गर्ने हरवा चरवाको सेवामूलक काम र तिनले पाउने न्यून पारिश्रमिक, बिरामी परेको बेलामा पनि काममा जानै पर्ने बाध्यताको बारेमा आफूले सानैदेखि देखेको सुनाए । ‘उनीहरुको थातबास, जीविकोपार्जन, शिक्षा, राजगारीको अवस्था अत्यन्त दयनीय छ’ उनले भने ‘संघ, प्रदेश र स्थानीय सरकारले दिने सुविधा, राहत कसलाई कसरी दिने भन्ने पहिचानका लागि पनि लगत संकलन, पहिचान र परिचय पत्र जरुरी छ ।’ त्यो कामका लागि गाउँ कार्यपालिकाको बैठकमार्फत् निर्णय गरी साझेदार संस्थाको सहकार्यमा कार्यविधिको मस्यौदा बनाएर पारित गरी लागू गर्न तयार रहेको उनको प्रतिबद्धता थियो ।
त्यस्तै, गाउँपालिकाकको पुर्ब अधिकृत मुसहरु साहले वैदेशिक रोजगारी, लेखपढ गर्न सकेका दलित परिवारका युवाहरुको आयआर्जन लगायतका कारणले हरवा चरवाको अवस्था पनि फेरिंदै गएको चर्चा गर्दै पहिले जसरी सयौं बिघा जमिनको मालिक, जमिन्दारहरुको अवस्था पनि खस्किंदै गएको उल्लेख गरे । ‘हरवा चरवाको संख्या घट्दै गएको छ’ उनले भने ‘त्यस्ता हरवा चरवा परिवारका बालबालिकालाई शिक्षामा जोड दिंदै पालिका, प्रदेशबाट विशेष कार्यक्रम लागू गरिए थातवास, रोजगार, शिक्षामा पहुँच बढ्नुका साथै अवस्था सुधार हुँदै जान्छ ।’
गाउँपालिका स्वास्थ्य शाखाका मो. नसिम राइनले कार्यविधि बनाउन समस्या नरहेको तर त्यसका लािग पालिकासँग समन्वय गरी निरन्तर घच्घच्याउन एक जना स्रोतव्यक्ति चयन गरिनु पर्नेमा जोड दिए । ‘पालिका क्षेत्रमा हरवा चरवा लक्षित कार्यक्रम दलित समुदायका पनि पिंधमा रहेको मुसहर समुदायसम्म बिस्तार गरिनु पर्छ’ उनले भने ।
अभिमुखीकरणमा हरवा चरवाको लगत संकलन, पहिचान र परिचय पत्र वितरणका लागि कार्यविधि निर्माण, त्यसका विषयवस्तु, जनप्रतिनिधिहरुको भूमिकाको विषयमा बृहत् छलफल गरिएको थियो । अभिमुखीकरणमा संगमका कार्यकारी निर्देशक इन्द्रप्रसाद रामले स्थानीय तहबाट कार्यविधि निर्माणका लागि गरिनु पर्ने काम, आगामी आर्थिक वर्ष २०८२ - ०८३ को नीति तथा कार्यक्रम र बजेटमा मुक्त हरवा चरवाका सवालहरु सम्बोधन, हरवा चरवाको पुनस्र्थापनाका लागि अन्य सवालहरुको बारेमा चर्चा गरेका थिए ।
गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षतामा संचालित अभिमुखीकरणमा वडाध्यक्षहरु, हरवा चरवा अधिकार मञ्चका प्रतिनिधिहरु, गाउँपालिका अन्तर्गत विषयगत शाखा प्रमुखहरु लगायतको सहभागिता थियो । कार्यक्रम सुपरभाईजर प्रेम विश्वकर्माको संचालन रहेको अभिमुखीकरणमा पत्रकार मणिलाल विश्वकर्माले हरवा चरवा, तिनको अवस्था र समस्या, मुक्त हलिया, कमैया, तिनले आफ्नो अधिकार लागि गरेको आन्दोलन, मुक्त हलियाको परिचय पत्र र किसिम, कमैया तथा सिनो बहिष्कार आन्दोलन, सरकारी स्तरबाट गरिएका प्रयासहरु, अब गरिनु पर्ने काम, कार्यविधि कसरी र किन बनाउने, त्यसमा रहने विषयवस्तु लगायतका विषयमा सहजीकरण गरेका थिए ।


















