मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ४६ अर्ब ५८ करोड ३० लाख ५१ हजार बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभामा आज प्रस्तुत गरेको बजेटमा चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात् ६४.११ प्रतिशत छ । यो बजेट चालु आर्थिक वर्षभन्दा ६.१३ प्रतिशतले बढी हो ।
वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब ३७ करोड विनियोजन गरिएको छ । वैशिक रोजगारीबाट फर्केकाहरूलाई तालिम दिन आवश्यक बजेट विनियोजन गरिएको छ । विद्युतीय गाडी प्रोत्साहन गर्ने ठाउँठाउँमा ब्याट्री चार्च स्टेसन स्थापना गरिने उल्लेख छ ।
समग्रमा श्रम तथा यातायात मन्त्रालयका लागि ५७ करोड १४ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । लगानी समेलन तथा युरिया मल कारखानाको अध्ययनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका लागि ३ अर्ब ८ करोड ७४ लाख विनियोजन गरिएको छ ।
त्यसैगरी, गृह सञ्चार तथा कानुन मन्त्रालयका लागि ६४ करोड ४९ लाख ९७ हजार विनियोजन गरिएको छ । शिक्षा तथा संस्कृति मन्त्रालयका लागि ३ अर्ब ५७ करोड ६६ लाख ५५ हजार विनियोजन गरिएको छ । ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको भूमिगत सिँचाइ, सौर्य ऊर्जासहितका लागि पनि बजेट विनियोजन गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक र एक निर्वाचन क्षेत्र एक पक्की पुलका लागि बजेट विनियोजन गरिएको छ । त्यसैगरी, २१ वटा स्थानीय तहलाई पक्की सडकसँग जोड्न बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले समग्रमा भौतिक पूर्वाधार विकास मन्त्रालका लागि १५ अर्ब ८८ करोड ८५ लाख विनियोजन गरेको छ ।


















