संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको बताउनुभएको छ ।
मङ्गलबार नेपाल एयरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपाल आर्थिक रुपमा चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । नेपाल एयरलाइन्सले पनि आर्थिक व्यवसायिक सफलता हात पार्न नसकेको जानकारी दिनुभयो ।
दिन प्रतिदिन सुधार गर्न के गर्नुपर्छ भन्नेमा कर्मचारीहरुले ध्यान दिनुपर्ने बताउनुभयो । निष्ठा र योग्यतापूर्वक काम गर्दा सफलता हात लाग्ने उहाँको भनाइ छ । यस वर्ष गत वर्षको भन्दा नाफामा गएको वा आयआर्जन बढाएको सार्वजनिक संस्थाको रुपमा राष्ट्रिय नाचघर मात्रै रहेको भन्दै नेपाल एयरलाइन्ससँग आफूले अबका दिनमा त्यही अपेक्षा राखेको बताउनुभयो ।
‘‘हामी निकै चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेका छौँ । देशको अवस्था पनि चुनौतिपूर्ण छ । यहाँ पनि जुन किसिमको व्यवस्थापन र आर्थिक व्यवसायिक सफलता हामीले प्राप्त गर्नुपर्ने हुन्थ्यो, त्यसको चुनौति र अप्ठ्यारोबाट गुज्रिरहेका छौँ । दिन प्रतिदिन सुधार गर्न के गर्नुपर्छ भन्नेमा यहाँहरुले ध्यान दिनुहुनेछ ।,’’ उहाँले भन्नुभयो, ‘‘निष्ठा र योग्यतापूर्वक काम गर्नुहुनेछ भन्ने विश्वास छ । यस वर्ष गत वर्षको भन्दा नाफामा गएको वा आयआर्जन बढाएको सार्वजनिक संस्थाको रुपमा नाचघर देखिएको छ । नेपाल एयरलाइन्ससँग पनि मलाई त्यही अपेक्षा छ, सुधारको सङ्केत देखियोस् ।’’
मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्र राम्रोसँग चल्दा नेपालको पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो। पर्यटन क्षेत्र अघि नबढेसम्म नेपालको अर्थतन्त्र चलायमान हुन नसक्ने जानकारी दिनुभयो । नेपालको अर्थतन्त्र र स्वरोजगारीलाई अघि बढाउने वा नबढाउने भन्ने मियो ठाउँमा नागरिक उड्डयन प्राधिकरण रहेको बताउनुभयो ।


















