मुगुको गमगढीस्थित गमघाढ वितरण केन्द्रमा ३३ केभी विद्युत प्रशारण लाइनको सव-स्टेशन १२ वर्षपछि निर्माण भएको छ । एक वर्षपछि निर्माण कार्य सकिएको सव–स्टेशनमा असार महिनादेखि उक्त स्टेसनमा ३३ केभी विद्युत लाइनको जडान काम हुँदै आएको हो ।
गमगाढ वितरण केन्द्रले सव–स्टेशनलाई चालु गराउनका लागि आउँदाे आर्थिक वर्ष असोज महिनाभित्र हालको गमघाढ ११ केभी प्रशारण लाइनलाई ३३ केभीमा 'अपग्रेड' गरिने गमगाढ वितरण केन्द्रका कार्यालय प्रमुख साजन ऐडीले जानकारी दिनुभयो । सव–स्टेशन असोज महिनादेखि सञ्चालनमा आएपछि ११ केभीलाई ३३ केभीमा 'अपग्रेड' गरेपश्चात जिल्लाका सेवाग्राहीलाई विद्युत उत्पादनमा सहज हुने कार्यालय प्रमुख ऐडीले बताउनुभयो ।
कर्णाली प्रदेशको कालिकोट सव स्टेसनबाट हालसम्म प्रवाह भइरहेको ११ केभीलाई ३३ केभीमा 'अपग्रेड' गरिएपछि जिल्लामा ३३ केभी विद्युत प्रसारण सुरु हुने उहाँको भनाइ छ । माथिल्लो हुम्ला र जिल्लाको खत्याड गाउँपालिका, सोरु गाउँ पालिका र मुगुमकार्मारोङ गाउँ पालिकामा विद्युत विस्तार गर्ने उद्धेश्यकासाथ ११ केभीको प्रशारण लाइनलाई ३३ केभीमा 'अपग्रेड' गर्ने कार्य भइरहेको गमगाढ वितरण केन्द्रले जनाएको छ ।
गमघाढ वितरण केन्द्रको सव-स्टेशन निर्माण गर्नलाई दश करोड रुपियाँमा जिम्मा पाएको यमसिआइपिल जेभी र प्राधिकरण नेपालबिच सम्झौता भएअनुसार ०८१ साल माघ महिनादेखि काम थालनी गरिएको हो । निर्माण कम्पनीका सञ्चालक पप्पु शाहका अनुसार सव स्टेशनको भवन निर्माण कार्य सम्पन्न भइ अहिले सव-स्टेशनको टावर र ट्रान्सर्फमरमा जडान कार्य भइरहेको छ। अबको तीन महिनाभित्र उक्त सव-स्टेशनको काम सम्पन्न भई सञ्चालनमा आउने उहाँको भनाइ छ ।
जिल्लामा सव-स्टेशन सञ्चालनमा नआउँदा कम भोल्टेज आउने, भनेको समयमा लाइन नआउने, लोडसेडिङ बढी समयससम्म हुने, हावाहुरी आउँदा विद्युत नआउने लगायतका समस्याले सेवाग्राहीले सास्ती भोग्नु परेको छायाँनाथ रारा नगरपालिका-१ का व्यावसायी गर्दै आएका स्थानीय सन्तोष शाहीले बताउनुभयो । उहाँका अनुसार समयमै सव-स्टेसन सञ्चालनमा आएपछि विगतको जस्तो सेवाग्राहीलाई सास्ती नहुने उहाँको अपेक्षा छ।


















