सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ मा रहेको जनता नमुना माध्यमिक विद्यालयमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि आक्रोशित स्थानीयवासीले विद्यालयमा तोडफोड गरेका छन्। 

स्थिति तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको थियो ।शिक्षक हरि श्रेष्ठले कक्षा ५ मा अध्ययनरत १३ वर्षीया एक बालिकालाई कक्षामै संवेदनशील अंगहरूमा स्पर्श गर्ने र शारीरिक दुर्व्यवहार गर्ने गरेको पीडितले अभिभावकमार्फत गुनासो गरेकी थिइन्। अर्की ८ वर्षीया बालिकाले समेत यस्तै दुर्व्यवहार भएको बताएकी छन्।पीडित पक्षको गुनासोपछि सोमवार करिब १२ बजे आक्रोशित अभिभावक र स्थानीय बासिन्दाहरू विद्यालय पुगेका थिए। शिक्षक श्रेष्ठ विद्यालयमा उपस्थित नभएको थाहा पाएपछि उनीहरूले प्रमुख प्रध्यापकको कार्यकक्षमा तोडफोड सुरु गरेका थिए। त्यसक्रममा ढुंगा प्रहार हुँदा विद्यालयका झ्यालका सिसाहरू फुटेका छन्।

फुटेको सिसाले विद्यालयका प्र।अ ब्रह्मदेव सिंह र शिक्षिका रञ्जु कुमारी सिंहलाई हात, टाउको र खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यलय गोलबजारले जनाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।