मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ का वडा सदस्य नच्छुङ गुरूङले मङ्गलबार साँझ करिब ५ बजे छुहामा खोलामा लेदोसहितको बाढी देख्दा वित्तिकै गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङलाई फोन गर्नुभयो ।

बाढीका बारेमा जानकारी पाएलगत्तै गाउँपालिका अध्यक्ष गुरूङले प्रभावित क्षेत्रमा पर्ने वडाका जनप्रतिनिधि र स्थानीयलाई खबर गर्नुभयो । बाढी प्रभावित वडा नम्बर १ का अध्यक्ष पेमा आङ्ग्या गुरुङ र वडा नम्बर २ का अध्यक्ष कर्म नाम्ग्याल गुरुङले तटिय क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान सूचना दिनुभयो ।

उपल्लो मुस्ताङमा आएको बाढीको सूचना प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले पाएलगत्तै खोला आएर मिसिने नदीको तटीय क्षेत्रमा सर्तकता अपनाउन सूचना जारी गरियो ।

बाढी आएको केही मिनेटमै तयारी गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरूङले बताउनुभयो । अध्यक्ष गुरूङ भन्नुभयो, ‘‘बाढीको सूचना समयमै आएकाले मानवीय क्षति टर्‍यो, अब हामीले सम्भावित जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउछौ ।’’ अध्यक्ष गुरूङका अनुसार लोमान्थाङमा बग्ने खोला आसपासमा पशुचौपाया लिएर जाने, गोठबाट आवतजावत गर्ने पाँच वटा काठे पुलहरू समेत बगाएको अवस्थामा समयमै सूचना प्रवाह नभएको भए मानवीय क्षति समेत हुन सक्ने बताउनुभयो ।

मुस्ताङमा खोला, नदीबाट आसपासका बस्तीहरू जोगाउन आवश्यक पर्ने पक्की संरचना कम हुने भएकाले पनि पानीको बाहब बढेसँगै तटिय क्षेत्रमा क्षति हुने गरेको छ । उपल्लो मुस्ताङमा तटिय क्षेत्रमा भेडाच्याङ्ग्राको चरन क्षेत्र समेत हुन्छ । गाउँपालिका अध्यक्ष गुरूङको नेतृत्वमा क्षतिको विवरण सङ्कलन गर्न बाढी प्रभावित क्षेत्रमा पुगेको छ । सफा मौसम, वर्षा समेत नभएको अवस्थामा एक्कासी तिब्बती क्षेत्रबाट आएको बाढीका कारण उपल्लो मुस्ताङवासी त्रसित भएका थिए ।

यता मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले चुमजुङ गाउँ हुँदै बग्ने खोलामा बाढीको सूचना समयमै स्थानीयबाट आएकाले पूर्वतयारी सहज भएको बताउनुभयो । प्रजिअ भुषालले भन्नुभयो, ‘‘हामीले सूचनालाई नै आधार बनाएर पूर्वतयारी गरेका थियौं, विपदबाट सुरक्षित हुन प्रभावकारी सूचना नै पहिलो आधार हो ।’’ 

मुस्ताङ र तिब्बतको सीमा आसपासका क्षेत्रमा भीषण वर्षा भएका कारण बाढी आएको आशङ्का गरिए पनि अहिलेसम्म सिमा क्षेत्रमा रहेका चिनियाँ अधिकारीले वर्षाको पुष्टि गर्न सकेका छैनन् । वर्षा नभए पनि एकाएक बाढी आउन थालेपछि मुस्ताङ हुँदै बग्ने कालीगण्डकी नदीको जोखिमको सूचना छिमेकी जिल्ला म्याग्दी, बागलुङ र पर्वतमा समेत सूचना प्रवाह गरी सर्तकता अपनाउन अनुरोध गरिएको छ । यसैबिच बुधबार बिहान सदमुकाम जोससोम आसपासका क्षेत्रमा वर्षा भइरहेको छ भने मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ गाउँपालिका क्षेत्रमा भिषण वर्षा भइरहेको छ ।