मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेवी चोकमा साउन १० गते राती साढे ८ बजेतिर सशस्त्र प्रहरीले विशेष अपरेसन मार्फत ठुलो परिमाणको लागूऔषधसहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। भारतको बिहार राज्य अन्तर्गत पर्ने सुगौलीबाट पर्साको वीरगंज हुँदै काठमाडौंतर्फ आउँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको स्कारपियो गाडीमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन बेस, कुलेखानीबाट खटिएको टोलीले अपरेसन सफल बनाएको हो।

सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको सुरक्षा टोलीले स्कारपियोलाई इन्द्रसरोवर–२ को हेवी चोक नजिकै रोकेर चेकजाँच गर्दा गाडीको तीन वटा ढोकामा ‘फल्स बटम’ बनाएर लुकाइएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध फेला पारेको थियो। पक्राउ परेकामा भारतका ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर छन्। उनीहरूमध्ये शेख गजुर उक्त स्कारपियो गाडीका चालक रहेको पुष्टि भएको छ। सशस्त्र प्रहरीले बरामद गरेको लागूऔषध विवरण यस्तो छ:

नोफिन: २४०० वटा

डाईजेपाम: २००४ वटा

प्रोमेथाईजन हाईड्रोक्लोराईट: २४०० वटा

ट्रामाडोल हाईड्रोक्लोराईड क्याप्सुल: ५ वटा

यी सबै औषधिहरू संवेदनशील र गैरकानुनी रूपमा प्रयोग हुने लागूऔषधको श्रेणीमा पर्दछन्।

पक्राउ परेकाहरूले ती लागूऔषध कहाँ लगिने थियो र के प्रयोजनका लागि ल्याइएको हो भन्ने विषयमा अनुसन्धान अधिकारीहरूलाई स्पष्ट जवाफ दिन नसकेको सशस्त्र प्रहरी बल निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका चारै जनालाई बरामद लागूऔषध र प्रयोग गरिएको भारतीय नम्बर प्लेटको स्कारपियो गाडी सहित थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय, भिमफेदीमा बुझाएको जनाएको छ। पछिल्लो समय भारतबाट नेपालतर्फ लागूऔषध ओसारपसार गर्ने गिरोह सक्रिय हुँदै गएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। सीमावर्ती क्षेत्र हुँदै काठमाडौं, पोखरा जस्ता शहरी क्षेत्रमा वितरण गर्ने उद्देश्यसहित लागूऔषध तस्करीको क्रम बढेको देखिन्छ।

सशस्त्र प्रहरी बलले लागूऔषध नियन्त्रणका लागि सीमावर्ती नाकामा निगरानी कडा बनाउने रणनीति अघि सारेको छ। यस घटनाले लागूपदार्थ तस्करीको जटिलता र तस्करहरूको प्रविधि प्रयोग गर्ने तरिका दुवै उजागर गरेको छ। सशस्त्र प्रहरी निरीक्षक अमृत थापाका अनुसार, “गोप्य सूचनाका आधारमा गरिएको चेकजाँच सफल रह्यो। फल्स बटम प्रविधि प्रयोग गरी लागूऔषध ओसारपसार गर्ने यो प्रवृत्तिलाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइनेछ।”

यससँगै सशस्त्र प्रहरीले नागरिकहरुलाई लागूऔषध सम्बन्धी सूचना भएमा नजिकको प्रहरी वा सशस्त्र प्रहरी कार्यालयमा खबर गर्न आग्रहसमेत गरेको छ।