ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक दुई साताभन्दा बढी समयसम्मका लागि बन्द गरिएको छ । मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो ।

मेरिङ्देन गाउँपालिकाका अनुसार शनिबारदेखि आउँदो साउन २५ गतेसम्मका लागि लिङ्तेप–थुकिमा सडक खण्ड बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेप र वडा ५ थुकिमाको सिमाना भई बग्ने मुङ्वाखोलामा ह्युमपाइप बिच्छ्याई डाइभर्सन निर्माण तथा ढलानको काम भइरहेकाले उक्त समयावधिसम्म सडक बन्द गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।

हाल मङ्वाखोलामा मेवा डेभलपर्स हाइड्रोपावर लिमिटेडले डाइभर्सन निर्माणको काम गरिरहेको छ । डाइभर्सन निर्माणका कारण लिङ्तेप–थुकिमा सडक खण्ड बन्द भएपछि विकल्पका रुपमा थुकिमाको मुदुम्सको मुख्य मार्ग माश्रिङ स्वास्थ्यचौकी हुँदै मुङ्वाखोला–लिङ्तेप–कान्छी बजार सडक प्रयोग गर्न पनि गाउँपालिकाले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

गाउँपालिकाले साउन २५ गते सम्ममा मङ्वाखोलाको डाइभर्सन निर्माण गरिसक्ने लक्ष्यसहित निर्माणको काम भइरहेको र काम सम्पन्न नभएसम्म सबैखाले यातायातका साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ । उक्त सडक सदरमुकाम फुङ्लिङदेखि मेरिङ्देन गाउँपालिका हुँदै मिक्वाखोला गाउँपालिका जोड्ने मुख्य सडकमा पर्दछ ।