हिरोशिमामा आणविक बम बारी भएको ८० वर्ष पूरा भएको अवसरमा जापानले बुधबार एक समारोहको आयोजना गरी विश्वलाई आणविक हतियार आतङ्कको सम्झना गराएको छ । सन् १९४५ अगष्ट ६ मा अमेरिकी विमान एनोला गेले पश्चिमी जापानी शहरमा ‘लिटिल ब्वाय’ खसालेको क्षणको जापानको स्थानीय समयअनुसार बिहान ८:१५ बजे मौन प्रार्थना गरिएको थियो ।

बिहानीपख कालो पोसाक लगाएका सयौँ अधिकारी, विद्यार्थी र आक्रमणका समय बाँचेकाहरूले मृतकको सम्झनामा बनाइएका स्मारक (सेनोटाफ) मा फूलहरू चढ्याएर उनीहरूप्रति भावपूर्ण श्रद्धा व्यक्त गरेका छन् । श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै हिरोशिमाका मेयर काजुमी मात्सुईले मृतकको सम्झना गर्दै उनीहरू श्रद्धाञ्जलि अर्पण गर्नुभयो । कार्यक्रममा उहाँले युक्रेनमा रुसको आक्रमण र मध्यपूर्वमा जारी अराजकताको पृष्ठभूमिमा ‘विश्वभरि नै सैन्य निर्माणतर्फ तीव्र प्रवृत्ति बढेको’ भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । 

उहाँले भन्नुभयो, “यी घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायले इतिहासको त्रासदीबाट सिक्नुपर्ने पाठलाई बेवास्ता गरेको देखिन्छ ।” उहाँले थप्नुभयो, “उनीहरूले शान्ति स्थापनाका लागि गरिएको धेरै मेहनत ध्वस्त पार्ने चेतावनी दिएका छन् ।” हिरोशिमा आक्रमणमा मृत्यु हुनेको अन्तिम सङ्ख्या लगभग एक लाख ४० हजार थियो । उनीहरू विशाल विस्फोट र आगोको गोलाले मात्र होइन, आक्रमण र त्यसपछिको विकिरण, प्रदूषण र सङ्क्रमणका कारण पनि प्रभावित भएका थिए । 

‘लिटिल ब्वाय’ को तीन दिनपछि अगस्ट ९ मा नागासाकीमा अर्को आणविक बम विस्फोट हुँदा ७४ हजार मानिसको मृत्यु भएको थियो । आक्रमणपछि तत्कालीन विश्व शक्ति जापानले अगस्ट १५ मा आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्धको पनि अन्त्य भएको थियो । आज हिरोशिमा १२ लाख जनसङ्ख्या रहेको एक समृद्ध महानगर बनेको छ तर आक्रमणहरू धेरैको सम्झनामा जीवितै छन् ।

समारोहको सुरूवातमा ‘सेनोटाफ’को अगाडि पीडितहरूलाई श्रद्धाञ्जलि दिन लामबद्ध ठूलो भीडले मृतकको सम्झनामा प्रार्थनासँगै भएको थियो । बुधबार बिहान सबेरै भएको सभामा आक्रमणमा परी आफ्ना प्रियजन गुमाएका परिवार पनि प्रार्थना गर्न आएका थिए । आफ्नो नातिसँग ह्वीलचेयरमा आएकी ९६ वर्षीया योशी योकोयामाले आक्रमणको कहानी सुनाउँदै यसमा आफूले आफ्ना आमाबुबा र हजुरबा हजुरआमालाई विस्फोटसँगै गुमाएको बताउनुभयो । 

अझै पनि जीवित रहनुभएकी योकोमायाले भन्नुभयो, “मेरा हजुरबुवाको मृत्यु बम विस्फोटलगत्तै भएको थियो भने मेरा बुबा र आमा दुवैको विस्फोटबाट फैलिएको विकिरणका कारण क्यान्सर भई मृत्यु भएको थियो ।” उहाँले प्रसङ्गलाई जोड्दै भन्नुभयो, “मेरा सासू-ससुराको विस्फोटका कारण मृत्यु भएको थियो । त्यसैले शान्तिपछि युद्धभूमिबाट फर्किदा मेरा पतिले उनीहरूलाई नदेखेको बताउनुहुन्थ्यो ।” रासस