नेपालगन्ज–दिल्ली हवाई उडानका लागि पहल र सहयोग गर्न अनुरोध गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको ध्यानाकर्षण गराइएको छ ।
नेपालगन्ज–दिल्ली उडान दबाब समूहको एक टोलीले बुधबार प्रदेश राजधानी भालुवांग पुगेर मुख्यमन्त्री आचार्यलाई ध्यानाकर्षण पत्र बझाउँदै उडान सुरु गराउन पहल र सहयोग गरिदिन आग्रह गरेको हो ।
नेपालगन्ज–दिल्ली उडान दबाब समूहका सदस्य सचिव भिमबहादुर रानाभाटको नेतृत्वमा प्रदेश राजधानी पुगेको एक टोलीले मुख्यमन्त्री आचार्य र पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई भेटेर ध्यानाकर्षण पत्र बझाउँदै पहल र सहयोगको माग गरेको दबाब समुहका सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेको निजि क्षेत्रको अगुवाईमा लामो समयदेखि नेपालगन्ज–दिल्ली उडानको माग गर्दै आएको र अहिले नेपालगन्ज विमानस्थललाई समेत अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थलका रुपमा स्तरोन्नती गरिएकाले उडान सरु गर्ने बेला आएको हुँदा सो का लागि दवाव तीव्र पारिएको बताउनुभयो ।
नेपालगन्ज–दिल्ली उडान दबाब समूहका सदस्य सचिव रानाभाटका अनुसार मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण पत्र बुझ्दै नेपालगन्ज–दिल्ली उडानका लागि पहल गर्ने तथा हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
‘‘मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको तर्फबाट उडानका लागि सहयोग र समर्थन गर्ने लिखित प्रतिवद्धता समेत एक दुई दिनमा पठाउने जनाउनुभएको छ । सो बारेमा सङ्घीय सरकारसँग छलफल गर्ने पनि उहाँले भेटमा आश्वासन दिनुभएको छ।’’, दबाब समूहका सदस्य सचिव रानाभाटले भन्नुभयो।
मुख्यमन्त्री तथा पूर्व मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन प्रदेश राजधानी पुगेको टोलीमा नेपालगन्ज–दिल्ली उडान दबाब समूहका सदस्य सचिव रानाभाट, सदस्यहरु कृष्णप्रसाद श्रेष्ठ, करिश्मा योगी र सल्लाहकार बिरबहादुर ओली रहनुभएको थियो ।
यसअघि केही दिन अघिमात्रै नेपालगन्जमा भएको एक वृहत्त छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नेपालगन्ज–दिल्ली हवाई उडानको विषयलाई पनि एजेण्डा बनाउन अनुरोध गर्ने निर्णय गरिएको थियो।
सो निर्णय बमोजिम प्रधानमन्त्रीलाई गरिने आग्रहको मस्यौदा तयार भइरहेको र प्रधानमन्त्री विदेशबाट फर्केपछि सो बुझाउन जाने नेपालगन्ज–दिल्ली उडान दबाब समूहका संयोजक टंक धामीले बताउनुभयो ।
नेपालगन्ज–दिल्ली उडान सुरु गर्न सकिए भारतका धार्मिक र अनय पर्यटकलाई ठुलो संख्यामा यस क्षेत्रमा ल्याउन सकिने, कैलाश मानसरोवर जान भारतीय पर्यटक यहाँ ल्याउने र यस क्षेत्रबाट औषधी उपचार लगायत अन्य काम विशेषले दिल्ली जानेहरुलाई सहज हुने जनाइएको छ ।


















