सिरहाको १७ वटै पालिकाहरुमा प्रायः स्थानीय हाटबजार लाग्न सुरु भएको छ । स्थानीय हातबजार व्यवस्थित नहुँदा घाम पानीबाट त समस्या मात्रै होइन, असुरक्षाको दृष्टिकोणले समेत त्यति नै जोखिम भइरहेको जन गुनासो आउन थालेका छन् ।
लहान–ठाडी जाने व्यवस्त सडक चोहर्वा सिरहा जाने अति व्यस्त सडक हुलाकी मार्गमा पर्ने सडक र राष्ट्रिय राजमार्गको किनारामा लाग्ने स्थानीय हाट बजारको व्वयस्थापन नहुँदा यस्तो समस्या किसानहरुले भोग्दै आइरहेको सिरहाका नागरिक अगुवा शिव कुमार महराले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘गोलबजारको दुबै सडक किनारमा लाग्ने तरकारी हाट व्यवस्त सडकमा गतिमा जाने सवारी साधनको चपेटामा पर्ने हो भने ठूलै जन धनको क्षति हुने देखिन्छ । यस्तो विषयमा स्थानीय सरकार गम्भीर हुन नसक्नु चिन्ताको विषय हो।’’ यस्तै लहान भगवानपुर सडकमा पर्ने लहान–२३ गढामा, सखुवानन्कारकटी गाउँपालिका –५ महेश्वारीमा व्यस्त सडकमा लाग्ने कृषि हाट बजारको ववयस्थापन गर्न सरोकारवालाहरुले चासो नलिँदा कुनै दिन ठूलै धनजनको क्षति व्योहोर्नुपर्ने स्थानीय शिक्षक भोगेन्द्र प्रसाद यादवको बुझाइ छ ।
हुलाकी मार्गमा पर्ने नवराजपुर गाउँपालिकाको सोनवर्र्षा चोकमा कृषकका लागि बनाएको गिलेसनमा घाम पानीमा सवारी साधन राख्न थालेपछि कृषकहरुले तरकारी व्यस्त सडकको किनारमा बेच्नु परिरहेका बाध्यता स्थानीयहरुले गुनासो पोखेका छन् । देशमा लोकतन्त्र बहाली भएपछि गाउँगाँउमा सडक सञ्जालको विस्तार भएपछि हाटबजार लाग्ने क्रम हवातै बढेको छ । लाग्ने हाट बजारहरुहरु प्राय व्यवस्त सडकको किनारमा नै लाग्ने परिपाटीले हाट बजार व्यवस्थित हुन सकेको छैन। हाट बजार लाग्न थालेपछि हरेक गाउँमा तरकारी उत्पादनतर्फ किसानहरुको आकर्षण समेत बढेको कृषक अगुवा लहान–२१ का भोरिल यादवले सुनाउनुभयो । उहाँको अनुसार हाटबजार लाग्नु विकास नै हो तर व्यस्थित हाट बजार नलाग्दा घाम पानी र सुरक्षा अति नै चुनौती रहेको छ । स्थानीय सरकारले किसानको समस्यामा आलटाल गर्ने प्रवृती ठीक होइन ।
जिल्लाका १७ वटै पालिकामा लाग्ने हाट बजारलाई व्यवस्थित गर्न किन नसकेको जिज्ञासा सिरहा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोसँग राख्दा उहाँले भन्नुभयो, ‘‘सडक सञ्जालको विकासले हरेक स्थानीय तहमा लाग्ने गरेको हाटबजार अधिकांश अव्यवस्थित नै रहेको छ । यसको वयवस्थापन आवश्यक रहेकाले १७ वटै पालिकाहरुसँग कृषि ज्ञान केन्द्र लगायत सरोकारवाला निकायहरुलाई राखेर व्यवस्थित गर्न पहल थाल्नेछु ।’’


















