प्रेस युनियन बागलुङले सय दिने सदस्यता अभियान सुरु गरेको छ । नयाँ सदस्य सङ्ख्या वृद्धि र पूराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित अभियान सुरु गरिएको हो ।
अभियानमा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले बागलुङमा क्रियाशिल पत्रकारहरु इशिका थापा मगर र शिशिर जिसीलाई नयाँ सदस्यता दिएर अभियानको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष लम्सालले तीनै तहका सरकारले प्रेस स्वतन्त्रलाई कुन्ठित गर्ने कार्य गरेको बताउँदै त्यस्ता कार्यको प्रेस युनियनले विरोध गर्ने बताउनुभयो । उहाँले कोही कसैले प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने कार्य गरे त्यसको विरोध गर्ने बताउनुभयो ।
डिजिटल सञ्चार माध्यमलाई सहज बनाउनकोलागि वडा तहबाट नै अभिलेखिकरण गर्नु पर्ने बताउदै डिजिटल सञ्चार माध्यमको दर्ता प्रक्रिया नहुने तर त्यसलाई व्यवस्थित गर्न वडा तहमानै अभिलेखिकरण गर्नु पर्ने सुझाव दिनुभयो ।
प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तिले सय दिने सदस्यता अभियानलाई बागलुङमा प्रभावकारी र व्यवस्थित बनाएर अघि बढने बताउनुभयो । गण्डकी प्रदेशमा अभियान बागलुङबाट सुरूवात गरिएको छ ।


















