शुक्रबार बिहानसम्म जेरुसलेममा चलेको इजरायलको सुरक्षा मन्त्रिपरिषद्को बैठकले गाजा सिटी कब्जा गर्ने नेतन्याहुको योजना स्वीकृत गरेको छ । उक्त योजना मन्त्रिपरिषद्‌बाट बहुमतको आधारमा स्वीकृत गरिएको बीबीसीले बताएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शुक्रबार बिहान एक वक्तव्य जारी गर्दै गाजा सिटीलाई कब्जा गर्ने सरकारको औपचारिक योजना र युद्ध अन्त्य गर्नका लागि निर्धारित पाँचवटा आधारभूत सिद्धान्त सार्वजनिक गरेको हो ।

वक्तव्यअनुसार ‘इजरायली रक्षा बल (IDF) ले गाजा सिटीमा नियन्त्रण लिन आवश्यक तयारी गर्नेछ, र लडाइँ क्षेत्र बाहिर रहेका नागरिकहरूलाई मानवीय सहायता प्रदान गरिनेछ।’

युद्ध अन्त्यका लागि निर्धारण गरिएका पाँच सिद्धान्त:

हमासको पूर्ण निरस्त्रीकरण ।

सबै अपहृत व्यक्तिहरू, जीवित वा मृतको फिर्ता

गाजा पट्टीको सम्पूर्ण सैन्यीकरणको अन्त्य

गाजा क्षेत्रमाथि इजरायली सुरक्षा नियन्त्रण

हमास वा प्यालेस्टिनी प्राधिकरण बाहेकको वैकल्पिक नागरिक सरकारको स्थापना

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘मन्त्रिपरिषद्का स्पष्ट बहुमत सदस्यहरूले वैकल्पिक रूपमा प्रस्तुत गरिएको योजनाले न त हमासलाई पराजित गर्न सक्छ, न त अपहृतहरूको फिर्ती सुनिश्चित गर्न।’

यस योजनाअनुसार  इजरायली सेनाले गाजा सिटीमा नियन्त्रण लिन व्यापक तयारी गर्नेछ। मन्त्रिपरिषद्को यो निर्णयसँगै गाजामा हालसम्मको सैन्य कारबाही अझै तीव्र हुने संकेत मिलेको छ।