संगठित रूपमा कानून विपरित मानव अङ्ग मृगौला झिकी मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० घर भएका ३५ वर्षीय कुमार भन्ने राज कुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भएका २४ वर्षीय समिर नेपाली र सोही नगरपालिका-४ घर भएका ४७ वर्षीय राकेश नेपाली रहेका छन् । मानव बेचभिखन ब्यूरोबाट खटिएको प्रहरीले समिरलाई काठमाडौं महानगरपालिका-२६ मित्रनगर नयाँबसपार्कबाट र राकेशलाई टोखा नगरपालिका–३ बानियाँटारबाट बुधबार तथा राज कुमारलाई काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० बाट बिहीबार पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रमममा उनीहरूले पीडितलाई विभिन्न प्रलोभन देखाई २०८२ जेठ महिनामा भारतको चण्डीगढस्थित अपार्टेन्टमा पुर्याएको, मृगौला निकाले बापत ६ लाख रूपैयाँ रकम आउने, नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाएकोमा पीडितले ईन्कार गर्दा डर त्रास, करकापमा पारी चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा २०८२ साउन ९ गते वाँया मृगौला झिकेको खुल्न आएको छ ।
साथै उनीहरूले पीडतबाट झिकिएको मृगौला चर्को मुल्यमा बिक्रि गरी मानव अंगको गैरकानूनी व्यापार गर्ने गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट संगठित अपराध निवारण ऐन, २०७० बमोजिम ७ दन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















