छायानाथ रारा नगरपालिकाका वडा अध्यक्षहरुले आफु अनुकूल नगर प्रमुखले योजना सम्बोधन नगरेको भन्दै  बुधबारदेखि नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

छायाँनाथ रारा नगरपालिका– १ का वडा अध्यक्ष पदमराज मल्लका अनुसार नगर प्रमुख  बिष्णु कुमार भामले आर्थिक वर्ष ०८२/०८३ को १७ औं बजेट सभामा छलकपट गरेको आरोप लगाउँदै वडा अध्यक्षहरुले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । उक्त विवादलाई निष्कर्ष गर्नलाई आइतबार ११ बजे छायाँनाथ रारा नगरपालिकाको सभाहलमा बैठक बस्ने निर्णय भएको छ ।

यता छाँयानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामका अनुसार आर्थिक वर्ष ०८२/०८३ को १७ औं बजेट सभामा छलकपट गरेको आरोप निराधार भएको बताउनुभएको छ । उहाँका अनुसार सबै निर्णयहरुमा वडा अध्यक्षहरूको हस्ताक्षर र भत्ता बुझेको प्रमाण छ । उहाँले “सभा सकिएको एक हप्तापछि ताला लगाउनु बेमौसमी बाजा हो” भन्दै उहाँ आश्चार्य पर्नुभएको छ ।

छायानाथ रारा नगरपालिकाका एक कर्मचारीका अनुसार ताला बन्दी गर्ने वडाध्यक्षहरुको केही व्याक्तिगत योजनाहरु सम्बोधन नहुँदा उहाँहरुले नगरपालिका माथि ताला बन्दी गरेका हुन् । तालाबन्दीका कारण बुधबारदेखि नगरपालिकाको सेवा प्रवाह प्रभावित भएको छ ।

प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको सहजीकरणमा बिहीबार जिल्ला प्रशासन कार्यालयमा वडा अध्यक्षहरूसँग बैठक बसी उक्त माग सम्बोधन र तालाबन्दी खोल्ने प्रयास हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज भट्टले जानकारी दिनुभयो ।