मनिष यादव - सिरहा,। सिरहा प्रहरीले १७ किलोग्राम गाँजासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार २०८२ साल साउन ३१ गते राति करिब १ः३० बजे सिरहा नवराजपुर गाउँपालिका–५, कुसण्डी नजिकै पैदल भारततर्फ लागुऔषध बोकी जाँदै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरिएको हो।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झाँझपट्टी र सशस्त्र प्रहरी बल बिओपी नवराजपुरको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सिरहा भगवानपुर गाउँपालिका–२, गमरिया टोल बस्ने करिब ५० वर्षीय शिवनाथ यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनको साथबाट सेतो प्लास्टिकको बोरा भित्र लुकाइछिपाइ राखिएको १७ किलोग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पक्राउ परेका यादवलाई लागुऔषधसहित इलाका प्रहरी कार्यालय महेशपुरपतारमा ल्याई थप अनुसन्धान भइरहेको छ।
प्रहरीले उनलाई भदौ १ गते सम्मानित जिल्ला अदालत सिरहामा पेश गरी ५ दिनको म्याद लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिएकाे छ
।


















