सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७  वभनगामा निर्माण भएको कलभर्टको पर्खाल भत्किएको छ । जण्डौल–कुशहा सडकस्थित वभनगामाको ग्रामदेवता डिहिबार थानदेखि कट्टीसम्म सडक ढलान भएको कल्भर्टको पर्खाल दुई महिनामै भत्किएको हो ।

नेपाल सरकार शहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग स्थानीय पूर्वाधार विकास आयोजना मधेश प्रदेश कार्यालयअन्तर्गत निर्माण भएको कल्भर्टको पर्खाल भत्किएको स्थानीय रामनाथ यादवले बताउछन् ।

सङ्घीय सरकारको ४० लाख ८७ हजार तीन सय ७६ को लागतमा तिलाठी कोइलाडी ७ मा निर्माण गरिएको कलभर्ट तथा सडकमा गुणस्तरहिन सामग्री प्रयोग गर्दा भत्किएको स्थानीयको आरोप छ ।

कलभर्ट निर्माणमा दुई नम्बर इट्टाको प्रयोग तथा मापदण्ड विपरीत सिमेन्टसहित निर्माण सामग्री  प्रयोग गरिएको  स्थानीय अरुण यादवले बताउनुभयो । पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनीसँगको मिलोमतो अनियमितता हुँदा कमजोर संरचना निर्माण गरिएको स्थानीयहरुको भनाइ छ । माटो, ग्राइभेल, ढलान, कलभर्टमाथि इटाको पर्खालसहितको चार मिटर चौडाई ३ सय ३१ मिटर लम्बाइ रहेको पक्की ढलान सडक निर्माण योजनाको  जिम्मा ऋद्वीसिद्वी कन्टेकशन बुढीगंगा ७ मोरङले ठेक्का लिएरको थियो ।