अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
आफ्नो पाँचौँ खेलमा बुधबार नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभर खेल्दै सबै विकेट गुमाएर १०६ रनमा समेटिएको हो ।
नेपालको जितमा बलिङतर्फ सोमपाल कामीले पाँच विकेट हात पार्नुभयो । चार ओभर बलिङ गर्दा १७ रन दिएर सोमपालले पाँच विकेट हात पार्नुभएको हो ।
डार्विनको काजालिस एरेना टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिनुभयो । उहाँले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाउनुभएको हो ।
त्यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन थप्नुभयो । भीम सार्कीले १७ रन बनाउँदा आरिफ शेख र रुपेश सिंहले समान १२र१२ रन जोड्नुभयो ।
बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई–दुई विकेट हात पार्नुभयो ।
१४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रनमा अलआउट भएको हो । उसका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाउँदा जे लेमिरले १८ तथा ह्यारी डिक्सनले १६ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।
मेलबर्नविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि सोमपालले पाँच विकेट हात पार्दा कुशल भुर्तेलले दुई विकेट हात पार्दा साहब आलम र रुपेश सिंहले एकएक विकेट हात पर्नुभयो ।
पाँच खेल खेलिसकेको नेपालले तीन खेलमा लगातार पराजयको सामना गरेपछि दुई खेलमा लगातार जित निकालेको हो ।
पहिलो खेलमा अस्ट्रेलियाको नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग ३२ रनले पराजित हुँदा तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले स्तब्ध भएको। चौथो खेलमा भने नेपालले होबार्ट हरिकेन्सलाई ६६ ले हराएउँदै खाता खोलेको हो । मेलबर्नमाथिको ३३ रनको जितसँगै नेपालले चार अङ्क जोडेको छ । ११ टिम सहभागी प्रतियोगितामा नेपाल तालिकाको छैटौं स्थानमा उक्लिएको छ । सिरिजको अन्तिम खेल नेपालले शुक्रबार पाकिस्तानसँग खेल्नेछ ।


















