राजविराज नगरपालिकाको बजार तथा सडकपेटीहरूमा दिनप्रतिदिन अतिक्रमण बढेपछि सर्वसाधारणले सास्ती भोग्नुपर्ने बाध्यता छ ।
यहाँको सडक पेटीहरूमा स–सानादेखि ठूलाठूला पसल सञ्चालनसँगै सवारीसाधन पार्किङ गर्न थालेपछि सर्वसाधारणले सास्ती ब्यहोर्नुपरेको हो ।
राम मन्दिरदेखि उच्च अदालत जनकपुर राजविराज इजलाससम्म करिब ४ सय मिटर सडकको दुबै छेउमा तरकारी, फलफूल, चटपटे तथा अन्य सामग्रीको पसल थापेपछि सडकको बिचको सानो भागबाट सर्वसाधारणले हिँडडुल गर्नुपर्ने बाध्यता छ । पैदल यात्रा र सवारी साधनमा यात्रा गर्न कठिनाइ भएको राजविराज ७ को शिवनारायण यादवले बताउनुभयो ।
राजविराज बजारको सबै सडकमा सवारी साधन पार्किङ गर्दा सर्वसाधारण समस्यामा पार्दै आएको उहाँले बताउनुभयो ।
सवारी साधनहरू बसपार्कमा नभए सडकमा पार्किङ गर्ने, सडक अतिक्रमण गरेर ससाना पसल सञ्चालन गर्ने प्रवृत्तिको न्यूनीकरण हुन नसक्दा सर्वसाधारणले सास्ती व्यहोर्नुपर्ने परेको हो ।
राजविराज बसपार्कको पर्खाइमा रहेका सर्वसाधारण बसपार्क निर्माण सम्पन्न भएर उद्घाटन भएको तीन महिना बित्न लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन। बस, माइक्रो, विंगरलगायत सानाठुला सवारी साधन बसपार्कमा पार्किङ नगरेर सडकमै पार्किङ गर्ने गरिएको छ । यसरी सडकमै सवारीसाधन पार्किङ गर्दा पैदल यात्रीलाई हिँडडुल गर्न समस्या हुने गरेको राजविराज २ का अधिवक्ता धर्मेन्द्र यादवले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘सबै काम सडकमै गर्न थालेपछि सडक व्यस्त न भएर के हुन्छ । पाँच मिनेटमा पुग्ने ठाउँमा २० मिनेट समय खर्चिनुपरेको छ । दुर्घटनाको डरत्रास पनि उत्तिकै बढेको छ ।’’
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले पटकपटक अतिक्रमण हटाए पनि फेरि अतिक्रमण गरेर पसल सञ्चालन गरेर सर्वसाधारणलाई सास्ती दिनेलाई कानुनबमोजिम कारबाही हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सडक अतिक्रमण र भिडभाड अहिलेको ठुलो समस्या रहेकाले अतिक्रमण हटाउन पुनः पहल गर्ने र सवारीसाधारण बसपार्कमा पार्किङ गर्ने व्यवस्था मिलाउने प्रयासमा छौँ ।’’


















