संगीत रोयल्टी संकलन समाजले ललितपुरका ६ निजी कम्पनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरेको छ ।

गीतसंगीतलाई अनुमतिबिना प्रयोग गरेको भनी ६ संस्थाविरुद्ब समाजले बिहीबार प्रहरीमा  जाहेरी हालेको हो । 

लियन डान्स बार, टिटोस पब एन्ड लन्ज, ट्विन्स क्लब एन्ड लन्ज बार, मेसोहट रेस्टुरेन्ट एन्ड लन्ज, रोयल प्यालेस दरबार बार र द बिग ओ फास्ट क्याजुअल रेस्टुरेन्ट एन्ड बारविरुद्ध जाहेरी दर्ता गरिएको गीतकार संघ नेपालका महासचिव टिका राईले जानकारी दिए । 

ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयबाट जाहेरी दर्ता गरिएको उनले बताए ।

यी संस्थाले कानून बमोजिम प्रयोगको अनुमति पत्र नलिई लामो समयदेखि गीतसंगीतको प्रयोग गर्दै आएको राईको भनाइ छ ।

यसबारे बारम्बार आग्रह गर्दासमेत आलटाल गर्ने, वास्ता नगर्ने गरेपछि जाहेरी दर्ता गरेको उनले सुनाए।

समाजका अनुसार प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २५ अनुसार सार्वजनिक रूपमा संगीत बजाउन वा प्रदर्शन गर्न अनुमति अनिवार्य हुन्छ ।

वि.सं. २०६४ मा स्थापना भएको समाजले गीतसंगीत बजाएबापतको रोयल्टी संकलन गरेर सर्जकलाई वितरण गर्दै आएको छ ।