जिल्ला प्रशासन कार्यालय सप्तरीमा राष्ट्रिय परिचयपत्र बनाउनेको चाप बढेको छ । सामाजिक सुरक्षा भत्ता र बैंक खाता नविकरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि दुई महिना देखि चाप बढेको हो ।

विहानदेखि साँझसम्म जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड लागेको हुन्छ भने पालो कुर्ने कतिपय जेष्ठ नागरिक कार्यालयको वरण्डामा सुत्ने समेत गरेका छन् ।

राजविराज नगरपालिका १३ का सुनिता चौधरी आफ्नो सासु आमा ७० वर्षीया सावित्री चौधरीको राष्ट्रिय परिचयपत्र बनाउन दुई दिनदेखि जिल्ला प्रशासन कार्यालय सप्तरीमा आईराख्नु भएको तर पालो नआएकोले कुरेर बसेको उहाँ बताउनुहुन्छ । 

छिन्नमस्ता गाउँपालिका ६ की ७४ वर्षीया भगीया देवी पनि बिहानैदेखि हातमा कागज लिएर पालो आजै आउँछ कि आशामा बस्नु भएको छ भने राजविराज ९ की ७५ वर्षीया भुटी देवी र राजविराज १४ परसाहीका ८० बर्षीय शत्रुघन मंडल ८० वर्ष पनि दुई दिन देखि पालो कुरेर बस्नुभएको छ ।

सेवाग्राहीको चाप बढेपछि विहान ८ बजेदेखि साँझ ८ बजे सम्म राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । उहाँले दैनिक पाँचसय देखि सातसय सेवाग्राहीको परिचयपत्र बनाउने कार्य भइरहेको बताउनुभयो ।

"बैंक र समाजिक सुरक्षा भत्ता नविकरणका कारण भिड बढेको छ, सकेसम्म कार्यालयमा आएको व्यक्ति नफर्काउने हिसावले काम भइरहेको छु," उहाँले भन्नुभयो ।