रौतहटको गौरमा सुटकेश भित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेश भित्र महिलाको शव भेटिएको हो ।
शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो ।
‘प्रारम्भिक अनुसन्धानमा उनी रुवीकुमारी साह रहेको खुलेको छ । उनका आफन्तहरु आएका छन् । मृतकको घर भारतको मुजफ्फरपुर हो । थप कुराहरु बुझ्ने काम हुँदैछ’ डिएसपी कार्कीले भने ।
उनका अनुसार मृतक रुवीका एक छोरा छन् । एक महिनादेखि माधवपट्टीमा उनी डेरा गरी बस्दै आएकी थिइन् । उनको हत्या गरेर शव सुटकेसमा राखेर फालेको हुन सक्ने प्रहरीको आशंका छ ।
शनिबार राति साढे १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका ९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । शंकास्पद लागेर प्रहरीले रातभर रुँगेर बसेको थियो ।
आज बिहान सुटकेस खोलेर हेर्दा त्यसभित्र सल र डोरीले घाँटी बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो ।


















