नेपालको पहिलो एआई सुरक्षा भेला सम्पन्न भएको छ । भेलाले ६० भन्दा बढी प्रख्यात प्राविधिक नेतृत्व, विद्यार्थी र आविष्कारकहरूलाई एकै ठाउँमा ल्याएको छ ।

नेपालमा जिम्मेवार, नैतिक र दूरदर्शी कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र प्रयोगबारे राष्ट्रिय संवाद सुरु गर्ने उद्देश्यले भेला गरिएको हो ।

कार्यक्रम नेपाली संस्था ‘एनोभेटर्स’ र बेलायतस्थित गैर–नाफामूलक संस्था ‘ब्लुडट ईम्प्याक्ट’को संयुक्त आयोजनामा भएको हो ।

कार्यक्रममा वक्ताहरूले सूचनामूलक प्रस्तुतिहरू दिँदै जिम्मेवार र नैतिक रूपमा एआईको विकास गर्न किन महत्त्वपूर्ण छ भन्ने कुरामा जोड दिए ।

भेलाको मुख्य आकर्षण नेपाल सरकारका पूर्वसचिव मधुकुमार मरासिनीको किनोट स्पिच रहेको थियो । उनले ’एआई गभर्नेन्स: एआई सुरक्षा र गभर्नेन्सका लागि नीतिगत आधारहरू’ शीर्षकमा आफ्ना विचारहरू प्रस्तुत गरे

उनले पछिल्लो समयमा भएको प्रविधिको तीव्र विकास र नेपालले जिम्मेवार एआई प्रणाली निर्माण गर्न गरिरहेको प्रयासबारे चर्चा गरे ।

उनले नवीनतम प्रविधिहरू अँगाल्दै अघि बढ्नुपर्ने र सबै नागरिकलाई डिजिटल प्रविधिहरूको प्रयोगबारे बुझाउनु पर्ने आवश्यकतामाथि जोड दिएका थिए ।

नेपालमा एआई गभर्नेन्स र सुरक्षाका लागि स्पष्ट दृष्टिकोण राख्दै उनले भने, ‘नेपाल एआई गभर्नेन्समा पछाडि पर्नु हुँदैन। साथै, सरकारले एआईलाई आत्मसात गरी हरेक नागरिकले घरबाटै सरकारी सेवा लिन मिल्ने गरी अझै सरल र सहज बनाउने दिशामा अगाडि बढ्नुपर्छ ।’

त्यस्तै, नेपालकै पहिलो कम्प्युटर अपरेटर नीलकण्ठ उप्रेतीले सहभागीहरूलाई नेपालको ५५ वर्ष पुरानो कम्प्युटर प्रविधिको यात्रामा फर्काए । उनले नेपालमा प्रविधिको विकासको ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्दै सबैलाई प्रभावित पारे ।