विराटनगर मोरङ। पूर्वी नेपालको व्यावसायिक केन्द्र विराटनगर पुनः स्तब्ध बनेको छ । जेन-जी आन्दोलनका क्रममा आगजनीबाट पूर्णरूपमा ध्वस्त पारिएको विराटनगर–६ स्थित भाटभटेनी सुपर मार्केटको भग्नावशेषभित्र सोमबार जलेको अवस्थामा मानव कंकाल फेला परेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले घटनास्थल निरीक्षणपछि पत्रकारलाई जानकारी दिँदै जलेर खरानी बनेको संरचनाबीचबाट हड्डीका टुक्रा भेटिएको पुष्टि गर्नुभयो । उहाँका अनुसार, पूर्णरूपमा सुरक्षित शव नभएर अंश मात्र भेटिएकाले पहिचान कठिन हुने देखिएको छ ।
सो कंकाल मार्केटको सरसफाइ गर्दै गरेका कर्मचारीले पहिलो पटक देखेका हुन् । त्यसपछि तत्काल प्रहरीलाई खबर गरिँदा एसपी चिमरिया स्वयं नेतृत्वको टोली घटनास्थल पुगेर प्रमाण संकलन कार्य सुरु गरेको थियो ।
यसअघि पनि धरानस्थित भाटभटेनीमा आगजनीपश्चात चार जनाको शव भेटिएको घटना सार्वजनिक भइसकेको थियो । विराटनगरमा फेला परेको यो कंकालसँगै आन्दोलनका नाममा हिंसा र अराजकतालाई लिएर थप गम्भीर प्रश्न खडा भएको छ ।
गत भदौ २४ गते, जेन-जी आन्दोलनका नाममा परिचालित अराजक समूहले विराटनगरसहित धरान, दमक र बिर्तामोडमा रहेका भाटभटेनीका शाखामा तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यसपछि पूर्वाञ्चलका प्रमुख शहरहरू दिनदिनै त्रासमय अवस्थामा रहेका छन् ।
सुरक्षा निकायले कंकाल फेला परेको घटनालाई संवेदनशील मोडको रूपमा लिँदै डीएनए परीक्षणमार्फत पहिचान गर्ने तयारी गरेको छ । उता, स्थानीयवासीले भने आन्दोलनका नाममा सर्वसाधारणको जीवन रक्षामै खतरा पुगेको भन्दै सरकारसँग कडा कारबाही र शान्तिपूर्ण वातावरण कायम गर्न माग गरेका छन् ।


















