काठमाडौं। आन्दोलनका क्रममा कर्तव्य पालनाका सिलसिलामा ज्यान गुमाएका प्रहरी शहीदका परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, भदौ २३ र २४ गतेको आन्दोलन नियन्त्रण गर्ने क्रममा जीवन आहुति दिएका प्रहरीका परिवारजनलाई राहतस्वरूप उक्त रकम दिने निर्णय भएको हो ।
प्रहरी संगठनले कर्तव्यमा जीवन बलिदान दिने सुरक्षाकर्मीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, परिवारजनलाई सघाउन यस्तो कदम चालेको बताएको छ ।
प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी संकलन हुने यो सहयोग रकमले शहीद परिवारलाई भावनात्मक र आर्थिक टेको पुग्ने विश्वास लिइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद गिमिरेले, "कर्तव्य पालनाका क्रममा ज्यान गुमाउने हाम्रा सहकर्मीहरूको बलिदान कहिल्यै बिर्सन सकिन्न । परिवारलाई साथ दिन यो सहयोग हाम्रा सबै प्रहरी परिवारकै साझा भावना हो," भन्नुभयो ।
यस निर्णयले प्रहरी शहीद परिवारमा केही राहत पुग्ने मात्र नभई सम्पूर्ण प्रहरी संगठनमा एकता, समर्पण र गर्वको भावना थप मजबुत हुने अपेक्षा गरिएको छ ।


















