जनकपुरधाम, असोज ८ गते।
नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलले आगामी बुधबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बैठक बस्ने भएको छ। प्रदेशमा उत्पन्न राजनीतिक संकटबीच हुन लागेको यो बैठकलाई निर्णायक मानिएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले गत २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गरेपछि प्रदेशको राजनीतिक वातावरण थप जटिल बनेको छ। उनको राजीनामापछि नयाँ सरकार गठन वा वैकल्पिक नेतृत्वको सम्भावनाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला कांग्रेसले बैठक बोलाएको हो।
बैठकमा स्थिर सरकार गठन गर्ने सम्भावना, राजनीतिक विवाद समाधान गर्ने उपाय तथा आगामी रणनीतिबारे गहन छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्।
यसैबीच, जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर क्षतिग्रस्त भएको कांग्रेस मधेश प्रदेशको जनकपुरधामस्थित पार्टी कार्यालय अझै जीर्ण अवस्थामा छ। भौतिक संरचनामा देखिएको क्षति स्वयं प्रदेशको अस्थिर राजनीतिक परिदृश्यको प्रतीक बनेको छ।


















