कुलानन्द यादब/सिरहा, असोज १३।
हिन्दू धर्मावलम्बीहरूको महान चाड दशैँ–तिहारको अवसरमा भगवानपुर युवा शक्ति परिवारद्वारा आयोजना गरिएको प्रशाद वितरण कार्यक्रम निरन्तरता पाउँदै आएको छ।
कार्यक्रम अन्तर्गत आज अष्टमीको दिन भगवानपुर पालिकामा स्थित इनर्वा दुर्गा भवानी मन्दिरमा बिहानैदेखि पूजा–अर्चना गरी सर्वसाधारणका लागि प्रशाद वितरण कार्यक्रम आयोजना गरिएको छ।
धार्मिक विधिअनुसार दुर्गा भवानीको विशेष पूजासँगै स्थानीयवासीहरूको उत्साहपूर्ण सहभागिता रहेको छ। बिहानदेखि नै श्रद्धालु भक्तजनहरूको भीड लागेको छ भने महिलाहरूले दुर्गा स्तुति तथा भजन–कीर्तन गरेर वातावरणलाई अझै भक्तिमय बनाएका छन्।
युवा शक्ति परिवारले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई धार्मिक उत्सवलाई भव्य र सफल बनाउन सक्दो सहयोगसहित सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ। साथै, यस्ता धार्मिक–सामाजिक गतिविधिहरूले सामुदायिक एकता, आपसी सद्भाव र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउन विश्वास आयोजकले व्यक्त गरेका छन्।















