कुलानन्द यादब/सिरहा, असोज २० — देशभर फैलिँदै गएको Gen-Z आन्दोलन अन्तर्गत आज सिरहाको भगवानपुर गाउँपालिका–१, भगवानपुर चोकस्थित श्री बालासुनदरी माध्यमिक विद्यालयमा आयोजित विशेष भेलाबाट युवा पुस्ताले सरकारसमक्ष १० बुँदे माग सार्वजनिक गरेका छन्।
बैठकमा सहभागी युवाहरुले देशमा देखिएको भ्रष्टाचार, असमानता र जनअपेक्षाविपरीतको शासनप्रति असन्तुष्टि व्यक्त गर्दै “अब पुराना शैलीका राजनीति होइन, शुद्ध र जिम्मेवार नेतृत्व चाहियो” भन्ने आवाज बुलन्द गरेका छन्।
Gen-Z प्रतिनिधिहरूद्वारा जारी विज्ञप्तिमा प्रमुख १० बुँदे मागहरू यस प्रकार रहेका छन् —
१) प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति प्रणालीको व्यवस्था,
२) २०४६ साल पछिका नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन र शुद्धिकरण,
३) ठूला–साना सबै तहमा भ्रष्टाचार न्युनिकरणका ठोस कदम,
४) खर्चिलो र अनावश्यक बनेको प्रदेश प्रणाली खारेज,
५) स्थानीय तहलाई निर्दलीय बनाउने,
६)२३ र २४ गते भएका सम्पूर्ण घटनाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने,
७) दरबन्दीभन्दा बढी कर्मचारी राख्न नपाइने,
८) आन्दोलनका क्रममा भएका हत्या र नरसंहारका आदेश दिनेहरूमाथि तुरुन्त कारबाही,
९)शहीद परिवारका सदस्यलाई रोजगारको व्यवस्था,
१०)आन्दोलनका क्रममा अपाङ्ग भएका व्यक्तिलाई योग्यता अनुसार रोजगार प्रदान गर्नुपर्ने।
युवाहरूले यो मागलाई सरकारले गम्भीरतापूर्वक नलिए अझ ठूला आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी पनि दिएका छन्।
भेलामा सहभागीहरूले सरकारप्रति प्रश्न गर्दै भने
“हामी देशभक्त हौं, तोडफोड होइन, सुधार चाहन्छौं। तर अब जनताका आवाज दबाइयो भने सडक नै हाम्रो संसद हुनेछ।”
Gen-Z आन्दोलनले अब स्थानीयस्तरमै ‘युवा सचेतना अभियान’ सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।


















