कुलानन्द यादव / सिरहा — लागुऔषध नियन्त्रण अभियानमा सशस्त्र प्रहरी बल, नेपालले फेरि एक उल्लेखनीय सफलता हासिल गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अपरेसनबाट सिरहाको भगवानपुर गाउँपालिका–२, बालन खोलाको कासघारी क्षेत्रमा लुकाइछिपाई राखिएको ९ बोरा गाँजा (जम्मा २१९.४ केजी) बरामद गरिएको हो।
मिति २०८२ असोज २४ गते बिहान ३:३० बजे, सशस्त्र प्रहरी नायब उपरीक्षक नन्द राज राईको नेतृत्वमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले उक्त गाँजा फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, इनर्वा सिरहाले जनाएको छ।
सशस्त्र प्रहरीले बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरीलाई बुझाउने तयारीमा रहेको जानकारी दिएको छ।
स्थानीयवासी र सरोकारवाला निकायहरूले सशस्त्र प्रहरीको यो सक्रियता र अनुशासनप्रति उच्च प्रशंसा व्यक्त गरेका छन्। सीमाक्षेत्रमा बढ्दै गएको लागुऔषध तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका ‘साहसी र प्रभावकारी’ बन्दै गएको जनाइएको छ।
सशस्त्र प्रहरी बलका एक अधिकारीका अनुसार, "हामी सीमाक्षेत्रलाई लागुऔषध र अवैध तस्करीमुक्त बनाउने दृढ संकल्पका साथ निरन्तर काम गरिरहेका छौं।"
यस अपरेसनले फेरि एकपटक देखाएको छ कि सशस्त्र प्रहरी बल, नेपाल देशको सीमाको सुरक्षामात्र होइन, समाजलाई लागुऔषधको अभिशापबाट जोगाउन पनि अग्रपंक्तिमा उभिएको संस्था हो।
*सशस्त्र प्रहरी बल, नेपाल – इन्कार्ना: “सीमाको सुरक्षा, अपराध नियन्त्रण र समाजको सुरक्षामा हाम्रो अटूट प्रतिबद्धता।”


















