नेकपा एकीकृत समाजवादीले आगामी २१ फागुनमा हुने निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले निर्वाचनको तयारीसँगै देशभर पार्टीका सबै जनवर्गीय संगठन सक्रिय बनाउने निर्णय गरेको हो ।

संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि निर्वाचनमा सहभागी हुने निर्णय गरिएको पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार त्यसका लागि निर्वाचनअगाडि समान विचारधारा भएका दलबीच तथा वाम समाजवादी पार्टीहरूको सहकार्य र एकता टुङ्गो लगाउने कार्यसूची बैठकले पारित गरेको छ ।

आजको बैठकमा मुलुकको समसामयीक विषय, पछिल्लो विकसित राजनीतिक घटनाक्रमलगायत विषयबारे समीक्षा गरेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए । उनका अनुसार बैठकमा जनवर्गीय संगठनहरूले हालसम्मका कार्यप्रगतिबारे छलफल भएको छ ।

पार्टीले गत भदौ अन्तिम साता स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाएकामा जेन–जी प्रदर्शनका कारण बैठक स्थगित गरेको थियो ।