काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरूलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म अधिकतम् सहभागी गराउनुपर्ने बताएका छन् । बस्नेतले पछिल्लो जेन–जी आन्दोलनका जायज मागहरू सम्बोधन गर्नुपर्ने जिकिर गरे ।

शुक्रबार राष्ट्रिय युवा परिषद्‌द्धारा आयोजित् ‘नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता’ विषयक संवाद कार्यक्रममा बस्नेतले भने, ‘युवाका बदलिएका आंकाक्षा सम्बोधन हुन नसक्दा जेन–जी आन्दोलनमा आक्रोश पोखिएको हो ।’ उनले मुलुक सुहाउँदो शासकीय सुधार र युवामैत्री सुशासनमार्फत् युवाका चाहना समेट्नुपर्ने बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले ७५३वटै पालिकामा स्थानीय युवा परिषद् गठन गरिनुपर्नेमा जोड दिए । लम्सालले भने, ‘युवाहरूले आफ्नो घरआँगनमा युवाको आवाज उठाउने संरचना भेट्न पाउनुपर्छ ।’

संवाद कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दिपेश घिमिरेले ‘नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता’ विषयक कार्यपत्र पेस गरेका थिए । घिमिरेले जेन–जी युवालाई विद्यमान संरचनाका १८ ठाउँमा जान संविधान र कानुन बाधक रहेको चर्चा गरेका थिए । कार्यक्रममा आयोजक साझेदार यूएनएफपीएका कार्यक्रम निर्देशक अविराम रोयले दिगो विकास गन्तव्य पूरा गर्न युवाको सहभागिता र सशक्तिकरणमा जोड दिए ।

कार्यक्रममा सहभागी युवाले दिगो  विकासमा युवाको भूमिका, नयाँ पुस्ताका अपेक्षा र राज्यले लिनुपर्ने कदम, युवामैत्री सुशासन र प्रभावकारी सेवा प्रवाह र उत्तरदायी सामाजिक सञ्जाल तथा सूचना प्रविधि विषयमा समूहगत छलफल गरी प्रस्तुतीकरण गरेको परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जानकारी दिए ।