कुलानन्द यादव / सिरहा असोज १ - तिहारको सुरुवातसँगै आज धनतेरस पर्व सिरहासहित देशभर उत्साहपूर्वक मनाइँदैछ। धन, स्वास्थ्य र समृद्धिको प्रतीक मानिने यो दिनलाई धनत्रयोदशी पनि भनिन्छ।
धार्मिक परम्पराअनुसार आजको दिन देवी लक्ष्मी र भगवान धनवन्तरीको पूजा आराधना गरिन्छ। धनवन्तरी आयुर्वेदका जनक हुन्, जसले समुद्रमन्थनबाट अमृतको कलश ल्याएको विश्वास गरिन्छ। त्यसैले आजको दिन स्वास्थ्य र धनको दुवै आराधना गर्ने चलन छ।
सिरहा, लहान, गोलबजारदेखि गाउँ–गाउँमा घर, पसल र आँगन सफा–सजावट गर्दै दीप र रंगोलीले सुशोभित बनाइएको छ। साँझपख घरको ढोकामा र तुलसीको चौतारोमा १३ वटा दियो बाल्ने परम्परा रहिआएको छ, जसले यमराजका नाममा दीपदान गरी परिवारमा दीर्घायु र अकाल मृत्यु टार्ने विश्वास गरिन्छ।
यसैगरी आज धातुका भाँडाकुडा, सुन, चाँदी वा नयाँ सामग्री किनमेल गर्ने शुभ मानिन्छ। बजारमा चहलपहल बढेको छ, पसलहरूमा खरिदकर्ताको भीड देखिन्छ।
स्थानीय बासिन्दाहरूका अनुसार धनतेरसले तिहारको असली उमंग ल्याउने भएकाले यो दिन विशेष तयारी र खुशीका साथ मनाइन्छ।


















