मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ ।

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए । उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिएको बताए । 

गुप्ताले यो वर्ष प्रतिअर्घ्य ६ सय रुपैयाँ निर्धारण गरिएको बताए । उनले भने, 'सबैले दिँदैनन् । नदिनेले पनि यहाँ अर्घ्य राख्छन् । प्रत्येक वर्ष ३००/३५० पुर्जा काट्ने गरेको छ । श्रद्धालु भक्तजनहरूबाट आएको रुपैयाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ ।'

AS_DHANUSHA_Image2025-10-24at15.30.04_3fda38d1-1761354622.jpg
गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा रहेको छ भने झिलीमिली बत्तीको काम बाँकी रहेको छ । गङ्गासागरमा तीनवटा समितिले सजावटको काम गर्ने गरेको छ ।

यस्तै, अरगजासरमा छठको घाटको निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले सजावट तथा सफाइका लागि अहिले काम भइरहेको जानकारी दिए । कर्णले यस पोखरीमा हिन्दुहरू मात्र नभई मुस्लिम समुदायका पनि केही व्यक्तिहरू रहने गरेको बताए । 'घाटमा अर्घ्य राख्नेहरूबाट सहयोगस्वरूप रकम लिने गरिएको र अर्घ्य राख्नेसँग कुनै दबाव हुँदैन, हामीले सहयोगस्वरूप आर्थिक सहयोग गरिदिन आग्रह गर्छौँ', उनले भने ।

शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ । यस पोखरीमा पाँच हजारभन्दा बढी अर्घ्य रहने गरेको र यो प्रत्येक वर्ष बढ्ने गरेको छ । मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहेकाले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरू बनाउने गरिन्छ । 

CS_JANAKPUR_IMG_0006-1761354622.jpg
त्यस्तै, यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भिड लागेको छ । जनकपुरधामको बजारहरूमा बाँसबाट र माटोबाट बनेको सामग्रीहरू जताततै बिक्री भइरहेको छ । छठपर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ । मिथिलानीहरू अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतको सामान किन्नमा व्यस्त छन् ।

चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ । दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन् । यस विधिलाई ‘खरना’ भनिन्छ ।

cosmos college
Nepatop

AS_DHANUSHA_Imagef4af78ec-1761354616.jpg
त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ । यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरिनेछ । रासस