११औँ महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बिहान ११ बजे बैठक आयोजना गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार २७–२९ मंसिरसम्म पोखरामा हुने ११औँ महाधिवेशनको तयारीका सम्बन्धमा आजको बैठकमा प्रारम्भिक रिर्पोटिङ हुनेछ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव पद्मा अर्यालले पोखराको वस्तुस्थितिका बारेमा बैठकमा रिर्पोटिङ गर्ने तयारी छ । बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी दिने सम्भावना छ ।

बैठकमा महाधिवेशनको कार्यतालिका, प्रतिनिधिको संख्या, प्रतिनिधि छनोटको आधार आदि विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिएका छन् ।

बैठकमा सरकारले २१ फागुनका लागि तय भएको निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रम आदि विषयमा पनि छलफल हुनेछ ।